इनमको मोबाइल कुमार बेनको घरमा दुई दिन राखिएको भन्दै कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि दुई दिनसम्म आफ्नो घरमा राखेको विषयमा आपत्ति जनाएको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको शीर्ष नेताहरूको बैठकपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरीले नियन्त्रणमा लिइसकेको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको घरमा किन पुग्यो भन्दै प्रश्न गरेका छन्।

‘एकजना बिचौलियाको मोबाइल प्रहरीले कब्जा गरिसकेपछि प्रधानमन्त्रीका सल्लाहकारको घरमा पुगेको भनेर समाचार आएको छ। किन पुग्यो ? त्यो अवधिमा त्यहाँ के भयो ? त्यहाँ कुन तथ्य मेटाउनुपर्ने थियो ?’ शर्माले प्रश्न गरे।

उनले सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रकरणमा सम्बन्धित कर्मचारी हटाइएको विषयप्रति पनि आपत्ति जनाए। प्रधानमन्त्री कार्यालयको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले त्यसलाई ‘श्रम शिविर’ बनाइएको हो भन्दै टिप्पणी गरे।

कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सार्वजनिक अडिओ र त्यससँग जोडिएका आरोपहरू निराधार, कपोलकल्पित र नियोजित भएको शर्माको दाबी छ।

कांग्रेसमाथि उठेका सबै प्रश्नको सामना गर्न र जस्तोसुकै छानबिनका लागि तयार रहेको बताउँदै उनले घटनाहरूको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न माग गरे।

उनले सरकारको नियन्त्रणमा रहेका व्यक्तिहरूबाट आफूअनुकूलका बयान रेकर्ड गराएर बाहिर ल्याइएको हुन सक्ने आशंकासमेत व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार