

काठमाडौँ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले प्रधानमन्त्री शाहसँगको भेटमा उहाँको प्रस्तावित भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल गर्ने अपेक्षा गरिएको छ। भेटवार्तापछि उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।
यसअघि बुधबार विदेश सचिव मिस्रीले परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तथा भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल भ्रमणका क्रममा मिस्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
भेटवार्तामा द्विपक्षीय व्यापार, विकास सहकार्य, ऊर्जा तथा जलस्रोत, पूर्वाधार विकास र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो। हवाई, रेल, सडक तथा पुलमार्फत कनेक्टिभिटी विस्तार गर्ने र जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने विषयले पनि प्राथमिकता पाएको मन्त्रालयले जनाएको छ।
मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिस्रीको नेपाल भ्रमण केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा उठाइने सम्भावित विषयमा प्रारम्भिक छलफल भए पनि भ्रमणको अन्तिम एजेन्डा भने तय हुन बाँकी रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित