
काठमाडौं । कतारले आफ्नो प्रमुख ग्यास उत्पादन केन्द्र रास लाफान औद्योगिक क्षेत्रमा इरानद्वारा गरिएको मिसाइल आक्रमणबाट “उल्लेख्य क्षति” पुगेको जनाएको छ।
कतारको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गरेको छ। आक्रमणका कारण प्लान्टमा आगलागी भएको थियो, जसलाई पछि नियन्त्रणमा लिइएको कतारको गृह मन्त्रालयले जनाएको छ।
कतारएनर्जीका अनुसार घटनामा कुनै मानवीय क्षति नभएको र सबै कर्मचारी सुरक्षित रहेको पुष्टि गरिएको छ। यद्यपि ग्यास प्रशोधन पूर्वाधारमा महत्वपूर्ण क्षति पुगेको बताइएको छ।
घटनापछि कतारले इरानी दूतावासका सैन्य तथा सुरक्षा सम्बन्धी अधिकारीहरूलाई “पर्सोना नन ग्राटा” घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ।
यो आक्रमण इरानले आफ्नो साउथ पर्स ग्यास फिल्डमा इजरायल र अमेरिकाद्वारा गरिएको आक्रमणको प्रतिकारस्वरूप गरेको चेतावनीपछि भएको हो। इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरू लक्षित गर्न सक्ने चेतावनी दिएको थियो।
रास लाफान औद्योगिक क्षेत्र दोहाबाट करिब ८० किलोमिटर उत्तरमा अवस्थित विश्वकै सबैभन्दा ठूलो लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) उत्पादन केन्द्र हो, जसले विश्वको करिब २० प्रतिशत एलएनजी आपूर्ति गर्ने गर्दछ।
यसअघि मार्च २ मा पनि आक्रमण भएपछि उक्त केन्द्रमा उत्पादन अस्थायी रूपमा रोकिएको थियो। विशेषज्ञहरूका अनुसार हाल उत्पादन रोकिएकै कारण तत्काल विश्वव्यापी आपूर्ति संकट नआए पनि दीर्घकालीन रूपमा ग्यास मूल्य उच्च रहन सक्ने सम्भावना रहेको छ।
मध्यपूर्वमा बढ्दो द्वन्द्वका बीच ऊर्जा पूर्वाधारमा भएका यस्ता आक्रमणले अन्तर्राष्ट्रिय बजार, विशेष गरी युरोप र एशियामा ग्यास आपूर्ति र मूल्यमा असर पार्ने चिन्ता बढेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित