
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने घोषणा गरेका छन्। इन्धनको मूल्य बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न दबाब बढेपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकी तथा विश्व बजारका लागि तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउन सहमत भएको बताएका छन्। उनका अनुसार नोभेम्बरमा थप पाँच लाख टन र त्यसपछि अर्को १० लाख टन डिजेल आपूर्ति गरिनेछ।
पुटिनले पनि शुक्रबार एक वक्तव्य जारी गर्दै ट्रम्पसँग विश्वव्यापी ऊर्जा अवस्थाबारे कुराकानी भएको पुष्टि गरेका छन्। उनले रुसले अमेरिकी बजारसहित विश्व बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने आफ्नो इच्छा पुनः पुष्टि गरेको बताएका छन्।
यद्यपि, रुसबाट डिजेल आयात गर्ने अमेरिकी निर्णयको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कडा विरोध गरेका छन्। उनले यसलाई पुटिनका लागि उपहारको संज्ञा दिँदै उक्त निर्णय युद्ध अन्त्य गर्ने प्रयास नभई युद्धलाई लम्ब्याउन गरिएको लगानीसरह भएको टिप्पणी गरेका छन्।
यस सम्झौताअन्तर्गत अमेरिकी अर्थ मन्त्रालयले अप्रिल ७ सम्म रुसी डिजेल निर्यातमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गर्ने तयारी गरेको जनाइएको छ। यद्यपि, अमेरिकी बैंकमा रोक्का रहेका रुसका अन्य सम्पत्तिमाथिको प्रतिबन्ध भने कायमै रहनेछ।
ट्रम्पले युक्रेनी आक्रमणबाट प्रभावित रुसी तेल प्रशोधन केन्द्रहरूको अवस्थालाई ध्यानमा राख्दै थप ३० लाख टन डिजेल पनि छोटो समयमै आपूर्ति गरिने दाबी गरेका छन्।
यसअघि रुसले डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछि पुटिनले अमेरिका र विश्व बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्न रुस तयार रहेको बताएका थिए। तर, त्यतिबेला उनले आपूर्तिको परिमाण खुलाएका थिएनन्।
ट्रम्पको घोषणापछि अमेरिकी अर्थ मन्त्रालयले अस्थायी इजाजतपत्र जारी गर्दै रुसी डिजेललाई अमेरिकी बजारमा प्रवेश गर्न अनुमति दिएको जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित