
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिँदैछ।
जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका क्रममा उहाँहरूलाई शनिबार पक्राउ गरिएको थियो।
प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत जिल्ला अदालत काठमाडौंमा पेश गर्ने तयारी गरेको छ। कानुनी व्यवस्था अनुसार ओली र लेखक दुवैलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिनेछ।
कार्की आयोगले ओली र लेखकमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको छ। दफा १८१ मा लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र दफा १८२ मा हेलचक्र्याइँ (लापरबाही) गरी ज्यान मार्न नहुने कसुर उल्लेख गरिएको छ।
लापरबाहीपूर्ण काम गरी ज्यान मार्ने कसुरमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।
पक्राउपछि नेता लेखकलाई नेपाल प्रहरीले महाराजगञ्जस्थित २ नं. गणमा राखेको छ भने ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले आइतबार सुरुमा अदालतबाट जरुरी पुर्जीको समर्थन गराएर त्यसपछि अन्य प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
यसैबीच, ओली र लेखकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई लगायतका कानुन व्यवसायीहरूले पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने तयारी गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित