स्वास्थ्य अवस्था कमजोर भएपछि ओलीलाई भर्चुअल रूपमा अदालतमा पेश गरिने

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा प्रत्यक्ष उपस्थित गराउने सट्टा अनलाइन भिडियो कन्फरेन्समार्फत पेश गरिने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै भौतिक रूपमा उपस्थित नगराई डिजिटल माध्यमबाट बयान तथा पेशी प्रक्रिया अघि बढाइने जनाएको छ। कार्यालयका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको अनुमति अनुसार भिडियो कन्फरेन्समार्फत उपस्थित गराउने तयारी गरिएको छ।

शनिबार बिहान गुन्डुबाट पक्राउ परेका ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना छन्। शनिबार साँझ र आइतबार बिहान गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्न सुझाव दिएका हुन्।

ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक दुवैलाई भदौ २३ गते भएको जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार