ओली र लेखक पक्राउविरुद्ध एमालेको प्रदर्शन, माइतीघरमा नाराबाजी

काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा प्रदर्शन गरेको छ। एमालेका जनवर्गीय संघ–संगठनहरूले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै अध्यक्ष ओलीलाई बिना शर्त रिहा गर्न माग गरेका छन्।

सरकारले जेन–जी आन्दोलनको छानबिनका लागि गठित आयोगको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र लेखकलाई शनिबार पक्राउ गरेको थियो। पक्राउपछि शनिबार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो।

एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारविरुद्ध ज्ञापनपत्रसमेत बुझाएको छ।

अध्यक्ष ओली पक्राउ परेपछि एमालेले कानुनी तथा राजनीतिक दुवै मोर्चाबाट संघर्ष गर्ने निर्णय गर्दै आन्दोलन अघि बढाएको जनाएको छ। प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने माइतीघर आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार