ओली, देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं । जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले प्रमुख राजनीतिक दलका नेताहरू तथा उनीहरूको नजिकका व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

प्रहरी स्रोतका अनुसार आन्दोलनका क्रममा केही नेताका घरमा आगजनी हुँदा नगद रकम फेला परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरु गरेको प्रारम्भिक अनुसन्धानलाई विस्तार गर्दै थप छानबिन अगाडि बढाइने भएको हो। सोही सिलसिलामा आइतबार बिहान नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनका परिवारका सदस्य तथा सचिवालयका केही व्यक्तिमाथि पनि अनुसन्धान अगाडि बढाइएको छ।

त्यस्तै, जेन–जी आन्दोलनकै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको घरमा समेत नगद रकम फेला परेको बताइएको छ। ललितपुर महानगरपालिका–२६, सुनाकोठीस्थित गंगा दाहालको निवासमा आगलागी हुँदा भेटिएको उक्त रकमको मुचुल्का उठाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यससँगै नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयका केही सदस्यहरूमाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार