ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा (एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले दुवै नेतामाथि थप अनुसन्धान गर्न ५ दिन थुनामा राख्ने अनुमति दिएको हो। सरकारी वकिलको कार्यालयले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको थियो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी घटनाको अनुसन्धानका सिलसिलामा उक्त प्रक्रिया अघि बढाइएको हो। सो समयमा ओली प्रधानमन्त्री रहेका थिए भने लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए।

उक्त घटनाबारे छानबिन गर्न गठित आयोगले दुवै नेतामाथि फौजदारी कारबाही अघि बढाउन सिफारिस गरेको थियो। सोही आधारमा जरुरी पक्राउ पुर्जी जारी गरी शनिबार उनीहरूलाई पक्राउ गरिएको हो।

अदालतमा उपस्थित गराउँदा रमेश लेखक स्वयं उपस्थित भएका थिए भने केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण त्रिभुवन शिक्षण अस्पतालबाट भर्चुअल माध्यममार्फत उपस्थित गराइएको अदालत स्रोतले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार