रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो।

अदालतले लेखकलाई पक्राउ गर्नुको आधार र कारण स्पष्ट पार्दै बहसका लागि उपस्थित हुन सरकारी पक्षलाई निर्देशन दिएको छ। साथै पक्राउसम्बन्धी कानुनी प्रक्रिया र आधारबारे विस्तृत जवाफ पेश गर्न पनि आदेश गरिएको छ।

लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले बन्दी प्रत्यक्षीकरण निवेदन दायर गरेकी थिइन्। निवेदनमा उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ।

गत शनिबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरीले लेखकलाई पक्राउ गरेको थियो। पक्राउपछि परिवार पक्षले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको हो।

सर्वोच्चको आदेशपछि अब सरकारी पक्षले पक्राउको औचित्य र कानुनी आधारसहित अदालतमा उपस्थित भई जवाफ दिनुपर्ने भएको छ।

प्रतिक्रिया

ताजा समाचार