
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक सुनिता खड्का नामकी एक व्यक्तिले सामाजिक सञ्जाल टिकटकमार्फत ज्यान मार्ने तथा घर जलाउनेसम्मका धम्की दिएको भन्दै कारबाहीको माग गरिएको छ।
सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराउँदै उक्त विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्।
उजुरीमा खड्काले सामाजिक सञ्जालमार्फत आपत्तिजनक भाषा प्रयोग गर्दै व्यक्तिगत रूपमा गालीगलौज गर्नुका साथै हिंसात्मक अभिव्यक्ति दिएको उल्लेख गरिएको छ। सांसद राईले उक्त गतिविधिले आफू, आफ्नो परिवार तथा सम्पत्तिको सुरक्षामा जोखिम उत्पन्न भएको भन्दै तत्काल अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।
उजुरीसँगै प्रमाणका रूपमा भिडियो तथा फोटोहरू पनि साइबर ब्यूरोमा पेश गरिएको जनाइएको छ। साथै, उनले आफ्नो तथा परिवारको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग अनुरोध गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित