संसद् अधिवेशन तयारीका लागि आज सर्वदलीय बैठक

काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दैछ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा हुने तय भएको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि हाल संसद्मा ६ दलको प्रतिनिधित्व रहेको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुनेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारका लागि संसद् अधिवेशन आह्वान गरेसँगै सोको तयारीका लागि बैठक बोलाइएको हो। बैठकमा आगामी अधिवेशन सञ्चालन, कार्यसूची र सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था अनुसार जेष्ठ सांसद अर्जुननरसिंह केसीले यसअघि चैत १२ गते सांसदहरूलाई शपथ ग्रहण गराइसक्नुभएको छ।
सर्वदलीय बैठकलाई आगामी संसदीय गतिविधिको दिशा तय गर्ने महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार