
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्।
च्यासलमा आज बसेको संसदीय दलको बैठकमा नेम्वाङले औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
बैठकमा बोल्दै उनले पार्टीको विधि, पद्धति र वरीयताको सम्मान गर्ने बताए पनि देशको वर्तमान परिस्थितिलाई नजरअन्दाज गर्न नहुने धारणा राखे। ‘देशको अवस्था कस्तो छ भन्ने कुरा सदनभित्र र बाहिरको गतिविधिबाट बुझ्न सकिन्छ,’ उनले भने।
नेम्वाङले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले अग्रजको अनुभव र युवाको ऊर्जालाई समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
‘अहिलेको जनभावना र आवश्यकतालाई ध्यानमा राख्दै, तथा पार्टीले लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्ने सन्दर्भमा, म संसदीय दलको नेतामा आफ्नो दाबी प्रस्तुत गर्दछु,’ उनले भने।
नेम्वाङ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका हुन्।
हाल प्रतिनिधि सभामा एमालेका २५ जना सांसद रहेका छन्।
यसैबीच, संसदीय दलको नेताका लागि समानुपातिकतर्फका सांसद रामबहादुर थापा ‘बादल’ पनि आकांक्षी रहेका छन्। उनकै संयोजनमा आजको संसदीय दलको बैठक बसेको हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित