
काठमाडौँ। चालु अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारमा बस्दैछ। बैठक दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा आयोजना हुने भएको हो।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेकपा का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन्। साथै, स्वतन्त्र सांसद महावीर पुनले पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ।
सचिवालयका अनुसार दलगत आधारमा बोल्ने समय निर्धारण गरिएको छ। रास्वपालाई २५ मिनेट, कांग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपालाई ७/७ मिनेट तथा स्वतन्त्र सांसद महावीर पुनलाई ५ मिनेट समय दिइएको छ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने, तीन वटा अध्यादेश पेश गर्ने, सभामुख चयनको निर्वाचन कार्यतालिका प्रस्तुत गर्ने, संसद नियमावली, २०७९ प्रस्तुत गर्ने तथा शोक प्रस्ताव पारित गर्ने लगायतका सम्भावित कार्यसूचीहरू रहेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित