
काठमाडौँ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सरकारले असंवैधानिक रूपमा पक्राउ गरेको भन्दै कडा आपत्ति जनाएको छ।
बैठकको प्रारम्भमै बोल्दै एमाले सांसद गुरु बरालले सरकार संविधानविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाए। उनले ओली र लेखकको पक्राउ असंवैधानिक भएको दाबी गर्दै तत्काल रिहाइको माग गरे।
सांसद बरालले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार र समानताको हक सुनिश्चित गरेको उल्लेख गर्दै सरकार स्वयंले त्यही संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाए। साथै, आन्दोलनका क्रममा एमालेका सांसदहरू राज्य दमनबाट घाइते भएको जानकारी पनि उनले संसदमा गराए।
उनले सरकारलाई संविधानअनुसार सञ्चालन हुन ध्यानाकर्षण गराउँदै घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न माग गरे।
उनले भने, “आज देशमा संविधानविपरीत गतिविधिहरू भइरहेका छन्। संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न र समानताको हक प्रदान गरेको छ। सभामुखज्यूमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ असंवैधानिक छ।”
एमालेले संसदमार्फत उठाएको यस विषयले राजनीतिक वातावरण थप तातेको देखिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित