
काठमाडौं । अब कानुन व्यवसायीहरूले पहिलेझैँ आफ्नो परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन्।
नयाँ व्यवस्थाअनुसार उनीहरूले पनि सर्वसाधारण नागरिकसरह नागरिक एप मार्फत गेट पास लिनुपर्नेछ। यस नियमप्रति कतिपय कानुन व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।
सिंहदरबार परिसरभित्र रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले सूचना जारी गर्दै अब कानुन व्यवसायीहरूले नागरिक एपबाट लिइएको सिंहदरबार गेट पासका आधारमा मात्र प्रवेश पाउने जानकारी दिएका छन्।
उनका अनुसार प्रशासकीय अदालतका पदाधिकारी तथा कर्मचारीहरूले सम्बन्धित निकायको आधिकारिक परिचयपत्रका आधारमा, कानुन व्यवसायीहरूले नागरिक एपको गेट पासका आधारमा, मुद्दाका पक्ष वा वारेसहरूले तारेख पर्चाका आधारमा तथा अन्य व्यक्तिहरूले दैनिक इ–पासका आधारमा प्रवेश पाउनेछन्।
यसअघि कानुन व्यवसायीहरूले नेपाल बार काउन्सिल ले जारी गरेको परिचयपत्रका आधारमा सिंहदरबारसहित अधिकांश अड्डा–अदालतमा प्रवेश पाउँदै आएका थिए। तर सिंहदरबार प्रवेशका हकमा भने अहिले कडाइ गरिएको छ।
नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै अधिवक्ता विनोदमणि भट्टराईले प्रशासकीय अदालत सिंहदरबारभित्रै रहेकाले त्यहाँ पुग्न पनि पास लिनुपर्ने प्रावधान व्यवहारिक नभएको बताए। उनले यस निर्णयमा पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
उनले भने, “कानुन व्यवसायीहरूबाटै नीति निर्माण गर्ने थलो प्रतिनिधि सभामा निर्वाचित व्यक्तिहरू पनि हुनुहुन्छ। उहाँहरूले यो समस्या समाधानका लागि पहल गर्नुहुन्छ भन्ने विश्वास छ।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित