सर्वोच्चको निर्णयपछि कांग्रेसमा एकताको सन्देश: पुनर्जागरणका लागि सभापति थापाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पार्टीभित्र एकताका लागि अनुकूल वातावरण बनेको बताएका छन्।

उनले उक्त निर्णयलाई जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको पक्षमा आएको महत्वपूर्ण निर्णयका रूपमा व्याख्या गरे।

सभापति थापाले पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई देशभित्र वा बाहिर जहाँ भए पनि जिम्मेवारीपूर्वक पार्टीको एकता र पुनर्जागरणमा सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। उनले पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा आफ्नो जिम्मेवारी सबैभन्दा बढी रहेको उल्लेख गर्दै त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै थापाले यसलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

उनले अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान पुर्‍याउने सक्षम पार्टी बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

ताजा समाचार