रास्वपा बैठक : संगठन विस्तारदेखि महाधिवेशन तयारीसम्म आधा दर्जन एजेण्डा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार दिउँसो पार्टी मुख्यालय बनस्थलीमा सुरु भएको छ। सभापति रवि लामिछाने बैठकका लागि करिब २ बजे मुख्यालय पुगेका हुन्।

बैठकमा संगठन विस्तार र आन्तरिक व्यवस्थापनसँग सम्बन्धित आधा दर्जनभन्दा बढी महत्वपूर्ण एजेण्डामाथि छलफल हुने बताइएको छ। मुख्य रूपमा “जिल्ला अधिवेशन कार्यविधि २०८३” पारित गर्ने, पार्टीको बैंक खाता सञ्चालनबारे आवश्यक निर्णय लिने र विभिन्न संरचनामा पदाधिकारी मनोनयन गर्ने विषय एजेण्डामा छन्।

स्रोतका अनुसार केन्द्रीय आयोग, सल्लाहकार परिषद, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको गठन र मनोनयन गर्ने तयारी गरिएको छ। साथै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने, विज्ञहरू तथा योजना आह्वान गर्ने विषयमा पनि छलफल हुनेछ।

त्यसैगरी, सांसदहरूलाई सांगठनिक जिम्मेवारी तोक्ने, भोलि बस्ने केन्द्रीय समिति बैठकको तयारी, संसदीय दललाई प्राविधिक सहयोग उपलब्ध गराउने र पार्टी लेबीसम्बन्धी विषयमा आवश्यक निर्णय लिने एजेण्डा पनि समावेश गरिएको छ।

रास्वपाले आगामी दिनमा संगठन सुदृढीकरण र महाधिवेशन तयारीलाई तीव्र बनाउने रणनीति अन्तर्गत बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार