
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक एक महिना पुग्न लाग्दा पनि निष्कर्षविहीन बनेको छ। चुनावी हारपछि सुरु गरिएको समीक्षा बैठक निर्णयविहीन हुँदा पार्टीभित्रको संकट झन् गहिरिँदै गएको संकेत देखिएको छ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले चैत १९ गतेबाट सुरु गरेको बैठकमा चुनावी समीक्षासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसपछि सदस्यहरूले धारणा राखे पनि निष्कर्षमा पुग्न नसक्दा बैठक पटक–पटक स्थगित हुँदै आएको छ।
शनिबार बिहान ११ बजे पेरिसडाँडा मा बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित गरिएको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनका अनुसार आवश्यक तयारी नपुगेकाले बैठक सारिएको हो। अब बैठक वैशाख १० गतेतिर बस्न सक्ने बताइएको छ।
बैठक लम्बिँदै जाँदा पार्टीभित्र नेतृत्व, संगठन र भावी रणनीतिबारे तीव्र मतभेद सतहमा आएको छ। सहसंयोजक माधव कुमार नेपाल सहित शीर्ष नेताहरूले उठेका प्रश्नको जवाफ दिए पनि साझा धारणा बन्न सकेको छैन।
केन्द्रीय सचिवालय गठन, नेताहरूको कार्यविभाजन र महाधिवेशनको मिति घोषणा जस्ता विषयमा सहमति जुट्न नसकेको स्रोत बताउँछन्। केही नेताहरू महाधिवेशन घोषणा गरेर अघि बढ्नुपर्ने पक्षमा छन् भने केही तत्कालै संगठनलाई पूर्णता दिनुपर्ने अडानमा छन्।
पार्टीभित्र युवाहरू समेत दुई धारमा विभाजित भएका छन्। एक समूहले विधि, पद्धति र प्रक्रियामार्फत नेतृत्व हस्तान्तरण हुनुपर्ने बताइरहेका छन् भने अर्को समूह तत्कालै युवालाई नेतृत्वमा ल्याउनुपर्ने दबाबमा छ।
केही युवा तथा विद्यार्थी नेताहरूले ६० प्रतिशतसम्म युवाको प्रतिनिधित्व माग्दै केन्द्रीय कार्यालयमै अनसनसमेत थालेका छन्, जसले पार्टीभित्रको असन्तुष्टि झनै प्रस्ट पारेको छ।
संयोजन समितिका सदस्यहरूले संगठन सुधार, नेतृत्व पुस्तान्तरण, वामपन्थी पुनर्गठन र महाधिवेशनमार्फत नयाँ संरचना निर्माण जस्ता प्रस्ताव अघि सारेका छन्। तर ती प्रस्ताव कार्यान्वयन गर्ने विषयमा स्पष्ट सहमति नहुँदा निर्णय प्रक्रिया ठप्प बनेको छ।
चुनावी पराजयपछि आत्मसमीक्षा गर्न बोलाइएको बैठक नै निष्कर्षविहीन बन्दा नेकपाभित्र नेतृत्व संकट, आन्तरिक अविश्वास र संगठनात्मक अन्योल झन् गहिरिँदै गएको देखिन्छ।
अब वैशाख १० गतेतिर बस्ने भनिएको बैठकले स्पष्ट दिशा दिन नसके पार्टीभित्रको विवाद थप चर्किने र संगठन कमजोर हुने जोखिम बढ्दै गएको नेताहरू स्वयं स्वीकार गर्न थालेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित