
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्ध खुलेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बस्नेतको भनाइ छ।
उनले भनेका छन्, ‘व्यवसायी दीपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवासँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सक्रिय थिए। तर अनुसन्धानका क्रममा उहाँहरूसँग सम्बन्धित कसैको कनेक्सन देखिएन। दीपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुधन गुरुङसँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरिएको छ।’
बस्नेतले गौरीबहादुर कार्की आयोगका सदस्य विज्ञानराज शर्माको नाममा पनि १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको दाबी गरेका छन्।
उनले थपेका छन्, ‘दीपकजी दोषी छन् कि छैनन् भन्ने विषय न्यायालयले नै निर्धारण गर्ने हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ। यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदै छ।’
बस्नेतले गृहमन्त्री पद आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो गुम्ने जिकिर गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित