गृहमन्त्री गुरुङलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन्।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्री गुरुङबारे बारम्बार नयाँ विवाद सार्वजनिक भइरहेकाले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने बताएका हुन्।

‘उहाँबारे पटक–पटक नयाँ–नयाँ कुरा सुनिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्तामा दुई–तीन पटकसम्म विभिन्न विषयमा कुरा आइरहन्छ। त्यसकारण उहाँले मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु,’ साम्पाङले भने।

पछिल्लो समय गृहमन्त्री गुरुङको सेयर लगानीको स्रोतबारे प्रश्न उठ्दै आएको छ। गुरुङले भने ऋण लिएर सेयर किनेको बताएका छन्।

गृहमन्त्रीसँग सम्बन्धित विवादहरू दोहोरिरहेकाले त्यसको समाधानका लागि राजीनामा उपयुक्त हुने साम्पाङको भनाइ छ। ‘अब हप्तामा दुई–तीन पटक सुनिन्छ—घरी के, घरी के। उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो,’ उनले दोहोर्‍याए।

अध्यक्ष राईले सरकारलाई सुशासन कायम गर्नेतर्फ ध्यान दिन पनि आग्रह गरे। नागरिकलाई स्वतन्त्र रूपमा गरिखान पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उनको जोड थियो।

‘सरकारलाई सल्लाह दिन चाहन्छु—नागरिकलाई कहिले घाँटीमा न्याँकेको, कहिले घोक्र्याउँदै गरेको जस्तो देखिन्छ। शान्ति–सुरक्षा केन्द्र सरकारकै जिम्मेवारी हो, यसो नगरौँ,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार