तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा

काठमाडौं। विद्वान गुरुङ ले नेपाल तरुण दल को अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

राजीनामा दिँदै उनले नेपाली कांग्रेस को भ्रातृ संगठन तरुण दलको नेतृत्व सम्हाल्ने क्रममा पार्टी नेतृत्व, केन्द्रीय समिति, पूर्वअध्यक्षहरू, जिल्ला कार्यसमिति तथा देशभरका तरुण युवाबाट प्राप्त साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेका छन्।

२०७८ फागुन ९ गते पार्टीको निर्णयअनुसार अध्यक्षको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले त्यसयता संगठनलाई सक्रिय, सशक्त र अनुशासित बनाउने प्रयास गरिएको बताएका छन्।

राजीनामापत्रमा उनले आफ्नो नेतृत्वमा पाँचौँ महाधिवेशन सम्पन्न गर्ने कार्यभार तोकिएको समयसीमा २०८३ मंसिर मसान्तभित्र पूरा गर्न नसकिएको स्वीकार गरेका छन्। महाधिवेशन प्रक्रिया सुरु भए पनि पछिल्लो राजनीतिक परिस्थितिका कारण उत्पन्न असहज अवस्थाले कार्य सम्पन्न गर्न कठिन भएको उनको भनाइ छ।

गुरुङले लोकतन्त्रको सुदृढीकरण र नयाँ जनादेशलाई संस्थागत गर्दै नेपाली कांग्रेसलाई समयानुकूल रूपमा अघि बढाउन तरुण दलले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले संगठनलाई यसको मूल मर्म र भावनाअनुसार अझ सशक्त, अनुशासित र पार्टीप्रति क्रियाशील बनाउन आगामी दिनमा पनि पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार