
काठमाडौं । गगन थापा ले सरकारले मधेशका जनताको अधिकार खोसेको आरोप लगाएका छन्।
सर्लाही पुगेका उनले पार्टको कार्यक्रममा बोल्दै मधेशका नागरिकलाई दिइँदै आएको सुविधा नखोस्न सरकारसँग आग्रह गरे।
उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने, “जनकपुर आउँदा यहाँका नागरिकले अधिकार माग्न काठमाडौं जानु पर्दैन भन्नुभएको थियो। तर व्यवहारमा वर्षौँदेखि सीमापार गरेर सामान किनमेल गर्दा पाइँदै आएको सुविधा तपाईंको सरकारले खोसेको छ। कृपया त्यो सुविधा पुनः सुचारु गरिदिनुहोस्।”
थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकीमा गम्भीर असर परेको उल्लेख गरे। उनले भने, “महँगीका कारण जनताको भान्सा प्रभावित भएको छ।”
उनले अघिल्ला सरकारहरूले पनि यस्ता निर्णय गरेको स्मरण गराउँदै त्यतिबेला पनि आफूले गलतलाई गलत भनेको र अहिले पनि सोही अडानमा रहेको स्पष्ट पारे।
सीमाक्षेत्रमा सानो परिमाणको सामान ल्याउँदा गृहिणी महिलाको झोला जाँच्ने कार्य उपयुक्त नभएको उनको भनाइ छ। उनले भने, “यसले नागरिकलाई थप दुःख दिने मात्र काम गर्छ। सरकारले सक्ने भए सुविधा देऊ, नसक्ने भए कम्तीमा दुःख नदेऊ।”
थापाले सरकारको रवैया यस्तै रहे सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिँदै स्थानीय जनताको आवाज उठाउने आफ्नो जिम्मेवारी रहेको पनि बताए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित