अमेरिकी दूत सर्जियो गोर काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट तय भएन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्ने भएका छन्। नयाँ सरकार गठन भएपछि अमेरिकाबाट हुने यो दोस्रो उच्चस्तरीय भ्रमण हो।

यसअघि अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर ७ वैशाखमा नेपाल आएका थिए। त्यसको करिब १० दिनमै ट्रम्पका विशेष दूतको भ्रमण हुनुले नेपालसँगको सम्बन्धलाई अमेरिकाले प्राथमिकतामा राखेको कूटनीतिक वृत्तमा चर्चा छ। दुवै भ्रमण आर्थिक सहकार्य विस्तारसँग सम्बन्धित रहेको जनाइएको छ।

हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर ट्रम्पनिकट कूटनीतिज्ञका रूपमा चिनिन्छन्, जसका कारण उनी प्रभावशाली मानिन्छन्। गोरले नेपाल भ्रमणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटवार्ता तय भएको छैन।

स्रोतका अनुसार गोरले विभिन्न माध्यमबाट प्रधानमन्त्रीसँग भेट्ने प्रयास गरिरहेका छन्। तर, प्रधानमन्त्रीको व्यस्त कार्यतालिकाका कारण समय मिलाउन कठिन भएको जवाफ दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, “कुनै विषयमा प्रधानमन्त्री तहबाटै संवाद आवश्यक भएमा मात्र भेट हुनेछ। अन्यथा विदेशी दूतहरूसँग औपचारिक भेटमै समय खर्च गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न।”

यसअघि नेपाल आएका सहायक विदेशमन्त्री समिर पल कपुरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने समय पाएका थिएनन्। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गरेर फर्किएका थिए।

नयाँ सरकार गठनपछि सामान्य स्तरका विदेशी प्रतिनिधिहरूले सीधै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट्ने प्रचलनलाई रोकिएको बताइएको छ। प्रधानमन्त्री बालेनले कूटनीतिक भेटघाटको जिम्मा परराष्ट्रमन्त्रीलाई दिँदै आफू शासन सुधारका कार्यमा केन्द्रित रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार