
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सुकुम्वासी बस्ती हटाउने सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गर्दै भने, “प्रधानमन्त्रीज्यूको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने सुन्दर नारा छ। तर बागमती किनारमा बगिरहेको आँसुले नेपाल हाँसिरहेको देखिन्छ कि रोइरहेको?”
उनले वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर चलाउनु सरकारको गलत संकेत भएको बताए। “खराब मानिसहरू हुन सक्छन्, तर छुट्याउने (स्क्रिन गर्ने) ठाउँ थियो। थापाथलीमा हजारभन्दा बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, यहाँसम्म कि सेना समेत परिचालन गरिएको देख्दा अचम्म लाग्यो,” उनले भने।
त्यस्तै, ज्ञवालीले तराई–मधेस क्षेत्रका साना व्यापार तथा सीमावर्ती गतिविधिमा देखिएका समस्याले नेपाल–भारत सम्बन्धमा असर पार्न सक्ने चेतावनी दिए।
उनले भने, “नेपाल–भारत सम्बन्धको एउटा महत्त्वपूर्ण पक्ष ‘पिपल टु पिपल कनेक्सन’ हो। त्यसमा नै भोलि समस्या आउने हो कि भन्ने चिन्ता छ। मधेसका जिल्लाहरूमा सानो व्यापारमा समेत अवरोध देखिएको छ।”
यसका साथै, उनले सरकारले अध्यादेशमार्फत कानुन ल्याउने अभ्यासप्रति पनि असन्तुष्टि जनाए। संसद् चलिरहेको अवस्थामा अध्यादेश ल्याउनु अपवाद हुनुपर्ने उनको भनाइ थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित