
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्।
आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधारमार्फत सुदृढ बनाउने रहेको बताए।
उनले सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरूलाई आह्वान गर्दै सरकार सहकार्यकै आधारमा अघि बढ्न चाहेको स्पष्ट पारे। तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा भने राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ छ।
विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेको अवस्थालाई सरकारले बुझेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे। उनका अनुसार सरकार नीतिमार्फत नै उद्योगी व्यवसायीलाई सुरक्षा प्रदान गर्ने दिशामा अघि बढिरहेको छ।
लामिछानेले व्यवसायीहरूमा केही डर–त्रास देखिएको सूचना पाएपछि प्रत्यक्ष छलफलका लागि बैठक राखिएको बताए। उनले भने, सरकारको कुनै पनि व्यवसायीलाई हतोत्साही बनाउने वा व्यवसाय धराशायी पार्ने उद्देश्य नरहेको स्पष्ट पारे।
उनले अर्थतन्त्रलाई प्रभावित पार्ने, संस्थाहरूलाई कब्जामा लिने तथा अनियमित गतिविधिमा संलग्न हुनेहरूमाथि भने राज्यले कडाइका साथ कदम चाल्ने चेतावनी दिए।
उनले व्यवसायीहरूलाई विगतका कमजोरीहरूको समीक्षा गर्न, आन्तरिक लेखापरीक्षण गर्न तथा सुधार प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरे।
लामिछानेले वर्तमान सरकार चुनावी वाचापत्रकै आधारमा सञ्चालन भइरहेको बताउँदै सोही मार्गदर्शनअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए।
उनका अनुसार नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै सरकारका प्रमुख प्राथमिकता हुन्। उनले आर्थिक सुधारका लागि लागू गरिने कानुनको कार्यान्वयनमा आवश्यक सहयोग गर्न व्यवसायीहरू तयार हुनुपर्नेमा जोड दिए।
उनले अब उद्योगी व्यवसायीहरूले समस्या लिएर नेताहरूको घरघर धाउनुपर्ने अवस्था अन्त्य हुने पनि उल्लेख गरे।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित