
काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता आएको उक्त अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले हिजो उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए। परिषद्को बैठक र सिफारिससँग सम्बन्धित गणपुरक (क्वोरम) प्रावधानलगायतका विषयमा पूर्ववत अडान राख्दै राष्ट्रपतिले अध्यादेश फिर्ता गरेका हुन्।
सरकारले संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रिया थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित बैठक तथा सिफारिस कार्यविधिमा सुधारका प्रावधान राखेर अध्यादेश स्वीकृतिका लागि पठाएको थियो।
अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले मात्रै निर्णय गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। तर, बहुमतका आधारमा निर्णय हुने संवैधानिक व्यवस्था कानुनमार्फत खण्डित हुन नहुने राष्ट्रपतिको अडान रहेको छ।
गत वर्ष असार २५ मा प्रमाणीकरणका लागि पठाइएको विधेयक सन्देशसहित फिर्ता गरिएको स्मरण गराउँदै, मंसिर २ मा मन्त्रिपरिषद्ले ल्याएको अध्यादेश जारी नभएको अवस्थामा पुनर्विचारका लागि फिर्ता पठाइएको शीतल निवासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित