
काठमाडौँ । नेपाली कांग्रेसका पाँच भ्रातृ संगठन स्वतः विघटन भएका छन्। केन्द्रीय कार्यसम्पादन समितिले ती संगठनका केन्द्रीय कार्यसमितिको म्याद नथप्ने निर्णय गरेसँगै उनीहरू विघटन भएका हुन्।
विघटन हुने संगठनहरूमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन्।
तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले यसअघि नै राजीनामा दिइसकेका छन्। उनीहरू तत्कालीन सभापति शेरबहादुर देउवा निकटका मानिन्छन्।
पार्टीमा विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा आएपछि समयमै महाधिवेशन गर्न नसकेका भ्रातृ संगठनका अध्यक्षहरू जिम्मेवारीबाट अलग भएका हुन्।
यसअघि पार्टीले महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो। सो समयसीमाभित्र महाधिवेशन गर्न नसके स्वतः पदावधि समाप्त हुने व्यवस्था गरिएको थियो।
पछि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असार १६ देखि २३ गतेसम्म बसेर कार्यतालिका पेश गरेका संघहरूलाई थप समय दिने निर्णय गरेको थियो। तर अधिकांश संगठनले तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न नसकेपछि म्याद थप गर्नु आवश्यक नरहेको निष्कर्षमा पार्टी पुगेको हो।
म्याद सकिएका समितिहरूले उक्त अवधिमा गरेका निर्णय र मनोनयनहरू पनि स्वतः अवैध हुने निर्णय गरिएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, ‘म्याद सकिएका समितिले गरेका सबै निर्णय र मनोनयन स्वतः अवैध भएका छन्।’
साथै, नेपाली कांग्रेसको विधानअनुसार अधिवेशन नभएका सबै भ्रातृ संघहरूको महाधिवेशन गराउन केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी दिइएको छ।
यद्यपि, नेपाल थारु सङ्घको हकमा जेठ १६ र १७ गते महाधिवेशन मिति तय भएकाले सो अवधिसम्मका लागि समयावधि थप गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित