कांग्रेस विवाद मिलाउन गगनको पहल, असन्तुष्ट नेतासँग संवाद सुरु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधान गर्न असन्तुष्ट पक्षसँग संवाद सुरु गरेका छन्।

यसक्रममा उनले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता थालेका हुन्। थापाले आज कोइरालासँग विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट गरेका थिए। उनीहरूबीच करिब एक घण्टा वार्ता भएको जनाइएको छ।

आजै नेता पूर्णबहादुर खड्कासँग पनि भेट्ने तयारी रहेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

चालिसेका अनुसार, ‘पार्टीभित्रको विवाद मिलाउने जिम्मा सभापतिलाई दिइएको छ, त्यसैले उहाँले संवाद अघि बढाउनुभएको हो।’

थापाले यसअघि खड्कासँग एक पटक भेट गरिसकेका छन् भने कोइरालासँग भने यो पहिलो भेट हो। पार्टीलाई एकताबद्ध बनाउँदै महाधिवेशनतर्फ लैजान आवश्यक वातावरण सिर्जना गर्न सभापतिले पहल थालेको बताइएको छ।

उनले थपे, ‘मिल्नुको विकल्प छैन। संवादमार्फत सहमति खोज्नुपर्छ भन्ने मान्यतासहित सभापतिले प्रयास गर्नुभएको हो। अब आन्तरिक विवादमा अल्झिनुभन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्छ।’

प्रतिक्रिया

ताजा समाचार