
कैलाली । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलामा सहभागी हुन धनगढी पुगेका छन्। धनगढीस्थित होटल रुबसमा उनले नेता–कार्यकर्तासँग सामूहिक भेटघाट सुरु गरेका छन्।
सभापति बनेपछि पहिलोपटक धनगढी पुगेका थापालाई नेता–कार्यकर्ताले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।
डोटीबाट निर्वाचित भरत खड्का र अछाम–१ बाट निर्वाचित भरत स्वार लाई दायाँ–बायाँ राखेर थापाले भेटघाट गरेका हुन्। दुवै नेता विशेष महाधिवेशन पक्षधर मानिन्छन्। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन्।
नेपाली काङ्ग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गरेको छ। नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित उक्त भेलालाई सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भेलाका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूले सभापति थापासँग भेटघाट गरिरहेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित