पेरूमा सानो विमान दुर्घटना, ११ विदेशी पर्यटकसहित १३ जनाको मृत्यु

काठमाडौँ। पेरूमा एउटा सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यम र पेरूका अधिकारीहरूले शनिबार भएको दुर्घटनाको पुष्टि गरेका छन्।

जानकारीअनुसार सेस्ना क्याराभान सी–२०८ विमान दक्षिणी पेरूस्थित विश्वप्रसिद्ध नाज्का लाइन्स माथि पर्यटकलाई हवाई अवलोकन गराइरहेका बेला दुर्घटनामा परेको हो। विमानमा ११ जना विदेशी पर्यटक र दुई जना पाइलट सवार थिए।

पेरूको सरकारी समाचार एजेन्सीका अनुसार मृत्यु हुने पर्यटकमध्ये दुई जना जर्मनी, दुई जना स्पेन र सात जना इटालीका नागरिक थिए। दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रहरी मेजर होर्खे आन्द्रादेले एएफपीसँग कुरा गर्दै दुर्घटना अत्यन्त भीषण भएकाले कसैको पनि जीवित उद्धार गर्न नसकिएको बताए। उनका अनुसार हालसम्म चार जनाको शव फेला परेको छ।

स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको विमान नाज्का लाइन्समाथि पर्यटकलाई हवाई भ्रमण गराइरहेका बेला दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परेको विमान स्थानीय एअरलाइन एरोडियाना को रहेको बताइएको छ।

एअरलाइनले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको निर्देशनअनुसार आफ्ना उडान तालिकाको समीक्षा गर्ने जनाएको छ।

नाज्का लाइन्स क्षेत्रमा यसअघि पनि यस्ता दुर्घटना भएका छन्। सन् २०२२ मा एउटा सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको थियो भने सन् २०१० मा सोही क्षेत्रमा भएको अर्को विमान दुर्घटनामा छ जनाले ज्यान गुमाएका थिए।

नाज्का लाइन्स पेरूको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। मरुभूमिमा हजारौँ वर्षअघि बनाइएका विशाल भू–आकृतिका कारण प्रसिद्ध यस क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। ती रहस्यमय आकृतिहरू अवलोकन गर्न हरेक वर्ष हजारौँ पर्यटक साना विमानमार्फत हवाई भ्रमण गर्ने गर्छन्।

प्रतिक्रिया

ताजा समाचार