अमेरिकाको दबाब अभियानमा सहभागी भए छिमेकी मुलुकले गम्भीर परिणाम भोग्नु पर्ने इरानको चेतावनी

काठमाडौं । इरानले अमेरिकाले अघि बढाएको आर्थिक दबाब अभियानमा सहभागी नहुन आफ्ना छिमेकी मुलुकहरूलाई चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा आर्थिक नाकाबन्दी लगाउने घोषणा गर्दै इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने देशमाथि समेत आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

त्यसको प्रतिक्रियामा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले अमेरिकी आर्थिक दबाब अभियानमा सहभागी हुने मुलुकले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।

इरानी सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा रेजाईले अमेरिकाको आर्थिक दबाबमा छिमेकी मुलुकहरू सहभागी भए स्ट्रेट अफ हर्मुज हुँदै खाडी क्षेत्रबाट बाहिरिने तेल ढुवानीका वैकल्पिक मार्गलाई समेत निशाना बनाउन सक्ने बताएका छन् ।

सन् १९८० देखि १९८८ सम्म इराकसँग भएको युद्धका अधिकांश समय इस्लामिक रिभोलुसनरी गार्ड कोरका कमान्डर–इन–चिफ रहेका रेजाईले इरानसँग अझै धेरै विकल्प बाँकी रहेको दाबी गरेका छन् ।

उनले अहिलेसम्म इरानले अमेरिकी सैन्य अखडालाई मात्रै निशाना बनाएको दाबी गर्दै आर्थिक दबाब बढाइए अमेरिकी तेल तथा आर्थिक कम्पनीहरूलाई समेत निशाना बनाउन सक्ने चेतावनी दिएका छन् ।

ट्रम्पले गत साता इरानको अर्थतन्त्रलाई कमजोर बनाउने उद्देश्यले नयाँ अभियान घोषणा गरेका थिए । युद्ध छैटौं महिनातर्फ अघि बढिरहेका बेला उनले इरानलाई सहयोग गर्ने वा इरानसँग व्यापार गर्ने जुनसुकै देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

अमेरिकाको उक्त कदमपछि इरानले आफ्ना छिमेकी मुलुकहरूलाई अमेरिकी दबाब अभियानमा सहभागी नहुन चेतावनी दिएको हो ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको।

प्रतिक्रिया

ताजा समाचार