काठमाडौं । भारतको महाराष्ट्रस्थित अमरावती अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा सोमबार आगलागी हुँदा तीन नवजात शिशुको मृत्यु भएको छ।
आगलागीपछि अस्पतालमा रहेका ३६ जना शिशुको उद्धार गरिएको र उनीहरू सकुशल रहेको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले बताएका छन्। उनले मृतकका परिवारलाई ५ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गर्दै घाइते शिशुको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन्।
अस्पतालका कर्मचारीका अनुसार बिहान ३ः३० बजे आगो लागेको थियो। नवजात शिशु सघन उपचार कक्षमा रहेको भेन्टिलेटरमा विद्युत् सर्ट भई विस्फोट हुँदा आगलागी भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
अस्पतालको तेस्रो तलामा रहेको उक्त कक्षमा समयअघि जन्मिएका तथा गम्भीर अवस्थामा रहेका शिशुलाई उपचारका लागि राखिएको थियो।
आगलागीपछि अस्पतालको स्वचालित अग्नि नियन्त्रण प्रणालीसमेत सक्रिय हुन नसकेको भन्दै व्यवस्थापनको सुरक्षा तयारीमाथि प्रश्न उठेको छ। विपक्षी दलका नेताहरूले अस्पतालको अग्नि सुरक्षा तथा विद्युतीय र चिकित्सकीय उपकरणको नियमित परीक्षण र मर्मतमा जोड दिएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित