रास्वपाले सांसदको उपस्थिति सुनिश्चित गर्न बनायो समूहगत तालिका

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूको उपस्थिति न्यून हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ।

संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा संसद् बैठकमा सांसदहरूको न्यूनतम उपस्थिति सुनिश्चित गर्न समूहगत तालिका निर्धारण गरिएको उल्लेख छ।

रास्वपाले आफ्ना सांसदलाई चार समूहमा विभाजन गरेको छ। तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ।

त्यस्तै, असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ।

तोकिएको दिन सम्बन्धित समूहका सांसदलाई बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भई छलफलमा सक्रिय सहभागिता जनाउन निर्देशन दिइएको छ।

सूचनामा अन्य समूहका सांसदलाई संसद् बैठकमा उपस्थित हुन अनिवार्य छैन भन्ने अर्थ नलाग्ने स्पष्ट पारिएको छ। ‘संसद् विशेष अवस्थाबाहेक सबैका लागि सधैँ बाध्यकारी हुनुपर्छ,’ सूचनामा भनिएको छ।

बैठक अवधिभर छलफल प्रभावित नहुने गरी खाजा वा अन्य आवश्यक कामका लागि पालैपालो समय व्यवस्थापन गर्नसमेत सांसदहरूलाई निर्देशन दिइएको छ।

कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा प्रस्तुत हुने समयमा अनिवार्य तोकिएका सबै सांसद उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार