
काठमाडौं । सरकारले निजी क्षेत्रका उद्योग, व्यवसाय तथा संस्थागत विद्यालयमा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीलाई कानुनबमोजिम चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा निजी विद्यालयका छाता सङ्गठनहरूलाई औपचारिक पत्राचार गर्दै चाडपर्व खर्च उपलब्ध गराउन ताकेता गरेको हो।
श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले वर्षमा एकपटक आफूले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिकबराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ। सोही कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि विभागले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्र पठाएको हो।
त्यसैगरी, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कानुनबमोजिमको चाडपर्व खर्च उपलब्ध गराउन विभागले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई समेत छुट्टाछुट्टै पत्राचार गरेको छ।
चाडपर्वको समयमा समेत कतिपय रोजगारदाताले श्रमिकलाई कानुनले तोकेका सेवा–सुविधा उपलब्ध गराउन आनाकानी गरिरहेको गुनासो आएपछि विभागले यस्तो कदम चालेको हो।
विभागले कानुनले तोकेको चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाताविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ। यस कदमले निजी क्षेत्रका श्रमिक, शिक्षक तथा कर्मचारीको कानुनी अधिकार सुनिश्चित गर्न र चाडपर्वका बेला उनीहरूले पाउनुपर्ने सुविधा उपलब्ध गराउन दबाब पुग्ने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित