
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई नेपाल प्रहरीको साइबर ब्युरोले छलफलका लागि बोलाएको छ ।
समाचारको विषयलाई लिएर श्रेष्ठ र पन्तले एकअर्काविरुद्ध निवेदन दिएपछि ब्युरोले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
ब्युरोको टोली आज बिहान ललितपुरको नख्खुस्थित श्रेष्ठको निवास पुगेको थियो । त्यसपछि उनलाई साइबर ब्युरोको कार्यालय लगिएको हो । पन्त पनि ब्युरोमा पुगेको स्रोतले जनाएको छ ।
ब्युरोको उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि बोलाइएको हो । दुवै पक्षलाई सँगै राखेर छलफल गराउने प्रहरीको तयारी छ ।
यसअघि गत साउन २७ गते काठमाडौं प्रहरी परिसरले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गर्नुका साथै ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो ।
त्यसपछि श्रेष्ठको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश दिएको थियो । त्यसपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित