
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट रिहा गर्न माग गर्दै इस्लामाबादतर्फ अघि बढेको लङ मार्च आज पेशावर पुग्दैछ। मार्चलाई ध्यानमा राख्दै पेशावरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को मार्चका कारण पेशावरका केही निजी शैक्षिक संस्थाले बिहीबार विद्यालय बन्द रहने घोषणा गरेका छन्।
बुधबार साँझ अभिभावकलाई सन्देश पठाउँदै बिदाको जानकारी गराइएको थियो।
पीटीआईको मार्च बिहीबार पेशावर हुँदै पेशावर र चारसद्दाको सीमासम्म पुग्ने बताइएको छ।
बीबीसी उर्दूका अनुसार मार्चलाई ध्यानमा राख्दै केही निजी विद्यालयले बिहीबार विद्यार्थीका लागि बिदा घोषणा गरेका छन्। सरकारी विद्यालय बन्द हुनेबारे भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।
यसैबीच, पेशावरका केही क्षेत्रमा मोबाइल फोन सेवा बन्द गरिएको खबर पनि आएको छ। यद्यपि, यसको आधिकारिक रूपमा पुष्टि वा खण्डन भएको छैन।
इमरान खानको पार्टी र पाकिस्तानको नेतृत्वबीच गहिरो मतभेद कायम रहेका बेला यो मार्च निकालिएको हो।
यो र्याली आइतबार उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाबाट सुरु भएको थियो। उक्त प्रान्तमा इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफको सरकार छ।
इस्लामाबाद पुग्नुअघि मार्च विभिन्न स्थानमा रोकिने बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित