
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका छन्। उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि प्रस्थान गरेका हुन्।
गृहमन्त्रीको कार्यभार सम्हालेपछि गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रका रूपमा रहेको गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो। उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो।
मंगलबार नयाँ दिल्लीमा आयोजना हुने बैठकलाई गृहमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा बिमस्टेकका सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरू सहभागी हुनेछन्।
बैठकमा बिमस्टेक क्षेत्रमा देखिएका लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा तथा साइबर अपराधलगायत अन्तरदेशीय र क्षेत्रीय सुरक्षा चुनौतीबारे छलफल हुनेछ। यी विषयमा सदस्य राष्ट्रबीच सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य बैठकको रहेको छ।
बैठकका क्रममा सुरक्षा क्षेत्रसँग सम्बन्धित बिमस्टेकका विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेज पारित गर्नुका साथै घोषणापत्र जारी गर्ने कार्यक्रमसमेत छ।
नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहत कार्यका लागि क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयलाई बैठकमा प्राथमिकता दिनेछ।
बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीमध्ये सबैभन्दा कम उमेरका गुरुङले बैठकमा सहभागी हुने क्रममा आफ्ना समकक्षीहरूसँग द्विपक्षीय वार्तासमेत गर्ने कार्यसूची रहेको छ।
बैठकमा सहभागी भएपछि गृहमन्त्री गुरुङ असोज २८ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित