
काठमाडौं । नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ।
पार्टीभित्रको आन्तरिक विवादका कारण कांग्रेसले अहिलेसम्म दलको नेता चयन गर्न सकेको थिएन। अब भने उक्त प्रक्रिया ढिला नगर्ने महामन्त्री गुरुराज घिमिरेले बताएका छन्।
उनले भने, ‘वैशाख ४ गते दलको नेता चयन गर्ने सहमति भएको छ। सम्भव भएसम्म सहमतिमै टुंग्याउँछौँ, नत्र निर्वाचनमार्फत भए पनि निर्णयमा पुग्ने गरी छलफल भइरहेको छ।’
उनका अनुसार पार्टीभित्र अहिले सहमतिको प्रयासलाई प्राथमिकता दिइएको छ।
कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्म आङदम्बे, मोहन आचार्यलगायत नेताहरूको दाबी रहेको छ।
कांग्रेस सभापति गगन थापाका ससुरा समेत रहेका केसीले आफ्नो दाबी कायमै राखेका छन्। यद्यपि उपसभापति विश्वप्रकाश शर्माले उनलाई विश्राम लिन सुझाव दिइसकेका छन्। पूर्वसभापति शेरबहादुर देउवानिकट मानिने आङदम्बे पनि दलको नेतामा दाबी गर्दै पछिल्लो समय संस्थापन पक्षमा खुलेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित