पूर्णबहादुरमाथि कारबाहीको तयारी, सानेपामा ११ बजे अनुशासन समितिको बैठक

काठमाडौँ । पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा पूर्णबहादुर खड्का माथि नेपाली कांग्रेसले कारबाहीको तयारी गरेको छ। ‘कावा सभापति’को हैसियतमा उनले दोस्रोपटक वक्तव्य जारी गरेपछि पार्टीले यो कदम अघि बढाएको हो।

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्दैछ। त्यसअघि बिहान ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक सानेपामा बोलाइएको छ।

यसअघि पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउविरुद्ध खड्काले कांग्रेसको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेका थिए। त्यसपछि अनुशासन समितिले उनलाई सचेत गराउने निर्णय गरेको थियो।

चैत १८ गते बसेको अनुशासन समितिको बैठकले खड्काको नाम नलिए पनि अब उप्रान्त लेटरहेड दुरुपयोग भए नेपाली कांग्रेस को विधान २०१७ (संशोधनसहित) र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

अनुशासन समितिका संयोजक तथा केन्द्रीय सदस्य तारामान गुरुङ ले पार्टी अनुशासन उल्लंघन गर्ने जो–कोही पनि कारबाहीको दायरामा पर्ने बताएका छन्। ‘पूर्णबहादुर खड्कामाथि कारबाही गर्न बैठक बोलाइएको हो ?’ भन्ने प्रश्नमा उनले कसैले गल्ती गरे संरक्षण नहुने स्पष्ट पारे।

उनले भने, “पार्टीमा सबै अनुशासनमा बस्नुपर्छ। अनुशासन नमान्ने र विधानभन्दा बाहिर जाने हो भने कारबाही हुन्छ।”

पार्टी सभापति गगनकुमार थापा ले पनि खड्कामाथि कारबाहीको संकेत गरेका छन्। मंगलबारदेखि सुरु ‘जरा अभियान’ मा उनले अब धेरै सहन नसकिने बताएका छन्।

उनले भने, “म सभापतिको हैसियतले भन्छु, मलाई सहयोग गर्नुहोस्। सहयोग गर्न नसक्नेले अवरोध नगर्नुहोस्। पार्टी कार्यालयबाहिरबाट हुने अनधिकृत गतिविधि सीमा नाघे सहन सकिँदैन।”

यता खड्काले भने निर्वाचन आयोगको निर्णयमा समर्थन नभएकाले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यवाहक सभापतिका रूपमा आफू कायम रहेको दाबी गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार