
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय सचिवालय बैठकले संगठन विस्तार, विभिन्न विभागमा मनोनयन तथा जिल्ला अधिवेशन सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।
पार्टीले २०८३ वैशाख २७ गते बसेको बैठकमार्फत वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशनका लागि विशेष कार्यतालिका स्वीकृत गरेको जनाएको छ ।
बैठकको निर्णयअनुसार समिति गठन नभएका वडाहरूमा २०८३ जेठ २ गते वडा भेला आयोजना गरिनेछ । वैशाख २० गतेअगावै समिति गठन भएका वडाहरूमा भने जेठ ३ गते वडा अधिवेशन हुनेछ ।
त्यस्तै, समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते पालिका भेला तथा वैशाख २५ गतेअघि समिति गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन आयोजना गरिने निर्णय गरिएको छ ।
यसैगरी, जेठ ३ गतेअघि गठन भएका बाँकी वडाहरूको अधिवेशन जेठ १६ गते तथा जेठ १० गतेअघि समिति गठन भएका बाँकी पालिकाहरूको अधिवेशन जेठ १७ गते गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ । जिल्ला अधिवेशन भने जेठ २३ र २४ गते सञ्चालन गरिनेछ ।
बैठकले विभिन्न तह र विभागबाट प्राप्त सिफारिसका आधारमा नयाँ जिम्मेवारीसमेत तोकेको छ । निर्णयअनुसार RAT समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा र उपप्रमुखमा पूर्व एपीएफ डिआइजी बिदुर खड्का मनोनित भएका छन् ।
त्यस्तै, स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारी तथा सचिवमा हरि जोशी लाई जिम्मेवारी दिइएको छ । शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे, कर्णाली प्रदेश सहमन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी, केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल तथा कञ्चनपुर जिल्ला सभापतिमा पदम बिष्ट मनोनित गरिएको पार्टीले जनाएको छ ।
बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गरी जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णयसमेत गरेको छ ।
साथै, पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाका १५ जना सदस्यको सदस्यता खारेज गरिएको जनाइएको छ ।
पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते बस्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित